भूमिमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

समाचार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमै भएको भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताइन् ।

मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु र दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन् । ‘हिजोदेखि थाती रहेका केही विषयहरु छन् । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भनिन्, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडि बढ्न सकोस् ।’

मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गर्दा बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पूरा गर्ने अपेक्षा व्यक्त गरिन् । भेटमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्न सक्ने बताए ।

यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत उनले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोशिस गर्ने बताए ।

‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *