एसईई परीक्षा नरोकिने, अरु परीक्षा र भर्ना नलिन सरकारको अपील

समाचार

सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् ।

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताएका छन् । उनले आफ्नो अपीलमा भनेका छन्, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’

मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।

अरु परीक्षा र भर्ना नगर्नू

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने एसईई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात चैत ५ गते सकिनेछ ।

कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणको क्रास बढेसँगै स्कुल बन्द गर्नुपर्ने अवाज पनि उठेको थियो । तर मन्त्रालयले स्कुल बन्द गर्नुको साटो परीक्षा अगाडि सार्न आग्रह गर्‍यो । त्यसअनुसार सबै स्कुलले परीक्षा लिइरहेका छन् र भोलिसम्म सबै परीक्षा सकिनेछ ।

परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुने भन्दै शिक्षा मन्त्रालयले भनेको छ, ‘मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *