कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।
उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् ।
यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले कान्तिपुरसँग भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।’

