प्रहरी हिरासतबाट छुटेको पाँच दिनपछि छोराको हत्या

समाचार

भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका छन् । बुधबार साँझ डम्बरले घाँटीमा छुरा प्रहार गरेर कक्षा ७ मा पढ्दै गरेका छोराको हत्या गरेका हुन् । घटनालगत्तै डम्बरलाई प्रहरीले पक्राउ गरेको छ ।

साँझ आमा राधा चन्द गाईगोरुलाई घाँसपात गर्न गोठमा गएका वेला बालकको हत्या भएको हो । बालक आमालाई सघाउन घरभित्र रोटी पकाउने पिठो मुछ्दै थिए । मदिराले लट्ठ भएका डम्बरले विनाकारण घरभित्र पसेर छोरामाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाँटीमा छुरा प्रहार भएपछि बालक चिच्याउँदै ५० मिटर टाढा रहेको ठूलो बुबाको घरतिर भागेका थिए । ठूलो बुबाको घरको आँगनमा पुगेपछि उनी ढले । काका गणेश चन्दसहितले तत्कालै बालकलाई उठाएर महाकाली अस्पताल पुर्‍याए । ‘ऊ रगताम्मे भएर ढलेको थियो, हामीले हतारहतार गलामा कपडा बाँधेर अस्पताल पुर्‍यायौँ । तर, ऊ बाटोमै बितिसकेको रहेछ,’ बालकका काका गणेशले भने ।  आफ्नै छोरामाथि छुरा प्रहार गर्ने डम्बरले डेढ बिघा जग्गा मदिरा पिएरै सकेको छिमेकीले बताए । सानैदेखि मदिराका पारखी डम्बर जहिले पनि गाउँघरमा मदिरा सेवन गरेर झैझगडा गर्थे ।

काकामाथि पनि चिर्पट प्रहार

मदिराकै सुरमा २२ फागुनमा उनले आफ्नै काका गणेश चन्दको टाउकामा चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट काका गणेश चन्दको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले पनि गणेश घाइते नै छन् ।  २३ फागुनमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमा राख्यो । २४ फागुनमा उनी छुटेका थिए । गणेशले भने, ‘प्रहरीले घरायसी मामला भन्दै उसलाई छाडिदियो । अहिले यस्तो अवस्था देख्नुपर्‍यो ।’ राधाले नै पतिलाई प्रहरीबाट छुटाएर घर ल्याएकी थिइन् ।

पीडितलाई नगरपालिकाको सहयोग

दाजु सुवर्णको हत्या भएपछि उनकी एक्ली बहिनी ९ वर्षीया दिया चन्दको पठनपाठनको जिम्मा भीमदत्त नगरपालिका–२ वडा कार्यालयले लिएको छ । वडाध्यक्ष डम्बर कार्कीले भने, ‘छोराको हत्यापछि बाबु जेल जाने भएकाले आमाको सहजताका लागि बालिकाको पठनपाठनको जिम्मा वडा कार्यालयले लिएको छ ।’ बालकको काजकिरिया खर्चबापत नगरपालिकाले पीडित परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *