सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो वार्तालाप गरेका छन्। बुधबार दिउँसो दुई बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रचण्डले एक घन्टा लामो कुराकानी गरेका थिए। यो भेटघाटका लागि कसले पहल गरेको हो भन्ने प्रष्ट छैन।
प्रचण्डलाई पछिल्लो केही दिनदेखि सञ्चो थिएन। रूघाखोकीले ग्रस्त उनी केही दिनदेखि घरमै आराम गरिरहेका थिए।फागुन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएका प्रचण्ड त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
बुधबार भने उनी राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे।‘उहाँहरूबीच एक घन्टाजति एक्लाएक्लै भेट भएको हो,’ शितल निवास स्रोतले सेतोपाटीसँग भन्यो।
राष्ट्रपति भण्डारी र प्रचण्डबीच के कुराकानी भयो भन्नेबारे औपचारिक रूपमा दुबै पक्षले जानकारी दिएका छैनन्। राष्ट्रपति र प्रचण्डबीच यस्तो समयमा भेट भएको जतिबेला नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दूरी बढेको छ। सभामुख चयन, अमेरिकी सहयोग परियोजना एमसिसी र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयलाई लिएर दुई अध्यक्षबीच चर्को मतभेद देखिएको छ।

