काठमाण्डौ – नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको बताउनुभएको छ ।सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको बताउनुभयो ।
अहिले नेपाल एक दिवसीय मान्यता प्राप्त टीम भएकोले त्यसैअनुसारको प्रशिक्षकको खोजीमा संघ रहेको प्याकुरेलले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले नेपाली टीमको प्रदर्शनबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कीर्तिपुरमा भएको त्रिकोणात्मक सिरीज र हालै थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी २० मा नेपालले गरेको प्रदर्शनका विषयमा समीक्षा गरिने प्याकुरेलको भनाइ छ । क्रिकेटमा आजैको मेहनतले आजै नतिजा नआउने प्रष्ट पार्दै उहाँले विगतको मेहनतले नेपाली टीमले नतिजा हासिल गरेको बताउनुभयो ।
तर यसबीचमा क्रिकेट संघ नहुँदा र घरेलु क्रिकेटको संरचनाको अभावमा नयाँ खेलाडीहरु आउन नसक्नु दुर्भाग्यपूर्ण भएको सचिव प्याकुरेलले भन्नुभयो ।

