कोरोना भाइरस नियन्त्रण गर्न अमेरिकी सरकारद्वारा नेपाललाई व्यक्तिगत सुरक्षा उपकरण प्रदान

समाचार

अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोक्न नेपाल सरकारलाई शुक्रबार अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । यी पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले प्रदान गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई हस्तान्तरण गरिएका उपकरणमा ३,००० मास्क, २,५०० चेहरा कवच, २,००० जुत्ता ढाक्ने खोल, २,१०० सर्जिकल टोपी, १,००० ट्राउजर तथा ट्युनिक र १० वटा थर्मोल्यास थर्मोमिटर छन् ।

यी सामग्रीहरू तोकिएका अस्पतालहरूमा कोभिड–१९ लागेको शंका गरिएकाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ । प्रदान गरिएका यी सामग्रीको एक भाग देशमा कोभिड–१९ को प्रकोप फैलिएमा प्रतिक्रिया जनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभर विद्यमान राष्ट्रिय तथा क्षेत्रीय गोदामहरूमा पनि अग्रिम रूपमा राख्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *