उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइरसका कारण अत्याधिक माग बढेको र सर्वसाधारणले माक्स र सेनेटाइजर मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ । त्यस्तै, उक्त मन्त्रालयले माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै वजार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभागलगायत सम्बद्ध निकायहरुबाट बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्दै बजारमा विभिन्न बस्तुको अभाव नभएपनि कृतिम अभाव सिर्जना गरिएकाले प्रभावकारी बजार अनुगमन गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।
उपभोक्ताहरुलाई उपभोग्य बस्तुको अभाव नभएको विषयमा आश्वस्त पार्न तथा छाता संगठन मातहत निकायले आपुर्ति व्यवस्था नियमित गर्ने र मूल्यबृद्धि गर्न नदिने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले अनुचित नाफा कमाउने उदेश्यले उपभोग्य वस्तुको बिक्री वितरण एवं कृतिम अभाव नगर्न सरकारले व्यवसायीहरुलाई सचेत गराएको छ ।

