आईसीसी महिला टी २० विश्वकप : अस्ट्रेलिया र भारत फाइनलमा

खेलकुद

काठमाण्डाै – आईसीसी महिला टी २० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र भारत खेल्ने भएका छन् ।

सिड्नीमा भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै फाइनलमा स्थान बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३४ रन बनायो । उसका लागि कप्तान मेग नालिङले ४९ रन बनाइन भने बेथ मुनिले २८ रन बनाइन् । यस्तै अलिसा हिलेले १८ रनको योगदान गरिन् ।

जवाफमा दक्षिण अफ्रिकाको पारी सुरु हुनुभन्दा अगाडि भारी वर्षा भएपछि खेल १३ ओभरमा झारिएको थियो । जसका कारण दक्षिण अफ्रिकाले १३ ओभरमा ९८ रनको नयाँ लक्ष्य पायो ।

१३ ओभरमा ९८ रनकाे लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ५ विकेट गुमाउँदा ९२ रन मात्र बनाउन सक्यो । उसका लागि लिजेल ली ले १० रन बनाइन् भने कप्तान डेन निकर्कले १२ रन थपिन् । यस्तै सुन लुसले अविजित २१ रन बनाउँदा लाउरा ओ‍ल्भार्टले ४१ रनको योगदान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *