थरुहटको तराई बन्द खुल्यो

समाचार

थरुहट/थारुवान राष्ट्रिय मोर्चाले गरेको बन्द खुलेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन हिजो र आज कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेकोमा अहिले ५ बजेदेखि बन्द खुलेको हो।

मोर्चाले विज्ञप्ती जारी गर्दै आमहड्तालको कार्यक्रममा सघाउने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ। बन्दका कारण कैलाली, कञ्चनपुर सहित तराईका जिल्लाको जनजिवन प्रभावित भएको थियो।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *