काठमाडौं । छिमेकी देश चीनको ऊहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ । यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् ।
धमाधम सार्वजनिक कार्यक्रम रद्द
कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थासमेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।
सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्यन गर्न थालिएको हो ।
सोहीअनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । नेकपाले अवस्था सहज भएपछि कार्यकर्ता भेला गरिने जनाएको छ ।
यसैगरी फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ ।
विद्यालय बन्दको माग
सरकारी र गैरसरकारी तहमा विभिन्न औपचारिक कार्यक्रम रद्द भइरहेको अवस्थामा बालबालिका अध्ययन गर्ने विद्यालय भने खुलिरहेका छन् । भलै सरकारले चैत ५ भित्र वार्षिक परीक्षा लिन आग्रह भने गरेको छ ।
बालबालिकाको स्वास्थ्यमा गम्भीरता देखाइ अवस्था सामान्य नहुँदा सम्म सार्वजनिक बिदा दिइनुपर्ने कतिपयको माग छ ।
‘कोरोनाको यति ठूलो त्रास छ, बच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता छ’ राजधानीको नेपालटारकी अनिषा मगरले भनिन्, ‘मास्क लगाएर विद्यालय पठाइरहेको छु ।’ यस्तो त्रासका बेला विद्यालय बन्द गरिनु नै उचित हुने उनको भनाइ छ ।
के गर्दैछ सरकार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताए । उनले यसका लागि सरकारले राम्रो तयारी गरेको पनि दावी गरे ।
डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’
उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए ।
हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएकोस्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि केही आईसोलेशन बेड राखिएको उनले जनाए । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको पनि उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।
उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाइजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि आवश्यक गम्भीरताका साथ कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’
भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।
कोरोनाको विश्वव्यापी असर
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३२ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।

