काठमाडौं : छिमेकी मुलुक चीनको बुहान शहरबाट सुरु भएको कोरोनाले विश्वभर संक्रमण फैलिएको छ। कोरोनाको संक्रमण बढेपछि सरकारले सभा सम्मेलन तथा भेला नगर्न आग्रह गरेको छ। सोहीअनुरूप सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि जिल्लास्तरीयसभा सम्मेलन तथा प्रशिक्षण राखेको थियो।
नेपालमा कोरोनाको भाइरस संक्रमित नभए पनि जोखिमयुक्त भएकै कारणले सरकारले सचेतना अभियान चलाइरहेको छ। सोहीअनुसार प्रदेश १ को झापा बिर्तामोडमा मंगलबार हुने भनिएको प्रशिक्षण तथा भेला कार्यक्रम भएको प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यले बताए।
‘कोरोनाको प्रकोप फैलन सक्ने भन्दै सरकारले सभा सम्मेलन गर्न रोक लगाउने निर्णय गरेको छ। सोहीअनुरूप हामीहरूले पनि कार्यक्रम रोकेका हौँ’ उनले भने। बिर्तामोडमा तय भएको नेकपाको प्रदेशस्तरीय कार्यक्रम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति हुने कार्यक्रम तय भएको थियो।
कार्यक्रम स्थगित भएपछि गृहमन्त्री रामबहादुर थापा एयरपोर्टबाट फकिर्एका छन्। कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल सोमबार झापा पुगिसकेका छन्। मंगबार प्रदेशस्तरीय प्रशिक्षणपछि बुधबार नेकपा अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले सुखानी शहीद स्मृति दिवसको सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
जुन कार्यक्रम पनि स्थगित भएको छ। नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम प्रदेश १ र २ मा मात्र बाँकी रहेको छ। बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र ५ नम्बर प्रदेशमा प्रशिक्षण तथा राजनीतिक भेला सकिइसकेको छ।

