काठमाडौं । ‘रेडियो, टेलिभिजनमा नेताको नाम सुन्ने र देख्ने वित्तिकै मलाई एकदमै रिस उठेर आउँछ, नेतालाई भेटेँ भने खुट्टा नै भाँचिदिन्छु होला । अन्तरवार्ता हेर्दाहेर्दै दुईवटा टेलिभिजन पनि फुटाइसकेँ ।’
सुदूरपश्चिमबाट मनोपरामर्श लिन आएका एक व्यक्तिको कुरा सुनेर मनोचिकित्सक गोपाल ढकाल अचम्मित भए । ढकालकै शब्दमा भन्दा दुई वर्षअघिको यो घटना उनलाई ‘अचम्म लागेका केश’ मध्येका एक थियो ।
तर, ती व्यक्तिको समस्या कुनै ‘मनोरोग’ मात्र नभइ, राजनीतिप्रति सर्वसाधारणमा बढ्दो वितृष्णा देखाउने दृष्टान्त पनि हो । राष्ट्रिय सभागृहमा आइतबार आयोजित भरतमोहन अधिकारीको स्मृतिसभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको घटना पनि यसैको उपज भएको ढकाल बताउँछन् ।
‘मैले अध्ययन गरेका घटनाहरुले राजनीतिका कारण युवामा डिप्रेसन, निराशा र कुण्ठा बढेको देखिन्छ’, ढकालले अनलाइनखबरसँग भने, ‘अहिलको राजनीतिक परिवेश, नेताले गरेका विश्वासघात, उनीहरुका विलासिता र परिवर्तित जीवनशैलीका कारण यो स्थिति आएको हो ।’
जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका रतन तिरुवाले पनि प्रचण्डले भाषणमा व्यक्त गरेका वर्ग संघर्ष सम्बन्धी कुरामा आफू सहमत हुन नसकेको बताएका छन् । ‘बोली र व्यवहारमा समानता पाइनँ । सुन्दा सुन्दै आवेशमा आएँ’, प्रहरीलाई बयान दिँदै उनले भनेका छन् ।
प्रचण्डका लागि आफ्नै विगत थ्रेट
सुरक्षा निकायको विश्लेषणमा नेपालमा सबैभन्दा बढी सुरक्षा थ्रेटको विश्लेषण गरिएका व्यक्ति प्रचण्ड नै हुन् ।
नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार अहिले दाहालको सुरक्षामा नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा दुई समूह गरी ५९ जना सुरक्षाकर्मी खटिन्छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौति विश्लेषण गरेर प्रचण्डलाई यो सुविधा दिइएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृत प्रचण्डको थ्रेट आफ्नै विगत भएको बताउँछन् । दश वर्षे सशस्त्र द्वन्द्वका अयोग्य र अहिलेको परिवर्तनबाट असन्तुष्टि लडाकू प्रचण्डका लागि चुनौति हुन् । द्वन्द्वबाट पीडित परिवार पनि प्रचण्डबाट मुख्य चुनौति रहेको सुरक्षा संयन्त्रको विश्लेषण छ ।
निराशाको लेभल बढेर घृणाको तहसम्म पुगेको छ कि भन्ने देखिन्छ – राजनीतिक विश्लेषक, श्याम श्रेष्ठ
त्यस्तै, पार्टीबाट अलग्गिएर बनेका विभिन्न समूहबाट पनि उनी सधै निशानामा रहन सक्ने सुरक्षा विश्लेषण छ ।
प्रचण्डलाई जुत्ता प्रहार गरेका तिरुवाले पनि आफ्नो बुबा पूर्वमाओवादी भएको र द्वन्द्व कालमा ज्यान गुमाएको दाबी गरेका छन् । यद्यपि, नेकपा जुम्लाले विज्ञप्ति जारी गर्दै रतनका बुबा शहीद परिवारको सदस्य नभएको जनाएको छ ।
सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले उनका बुबा मनु भारत गएका वेला उतै बेपत्ता भएको बताएका छन् । यद्यपि, रतनले शहीद भनेर राज्यबाट लाभ लिइरहेको उनको दाबी छ ।
त्यसो त तिरुवा शहीद परिवारको सदस्य नभए पनि तत्कालीन माओवादी निकट परिवारमै हुर्किएका व्यक्ति चाहिँ पक्कै हुन् । प्रहरी रेकर्ड अनुसार उनका कान्छा हजुरबुबा चन्द्रबहादुर तिरुवा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जुम्ला इञ्चार्ज हुन् । त्यसअघि उनी माओवादीमा थिए ।
चन्द्रबहादुर वसुन्धराबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा चलाइएको व्यक्ति भएको काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले अनलाइनखबरलाई बताए । यो कसूरमा उनी धरौटी बुझाएर अदालतबाट छुटेका थिए ।

