सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज बिहान अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गर्नुभएको हो । उहाँले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा पूजापाठ गर्नुभयो ।
सो अवसरमा उग्रतारा वेदविद्याश्रममा अध्ययनरत वटुकले स्वस्तिवाचन गरेका थिए । मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो । राष्ट्रपतिको स्वागतमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारी, पूर्वपदाधिकारी पनि पुग्नुभएको थियो ।
सो अवसरमा अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेको थियो । उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनपत्र प्रदान गरेको छ ।रासस

