राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा

समाचार

बैतडी —

बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा बिहीबार सावर्जनिक बिदा दिएको छ । राष्ट्रपति भण्डारी जिल्लामा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पाटनमा रहेको प्राविधिक शिक्षालय भीमदत्त पोलिटेक्‍निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावास भवनको बिहीबार उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ। त्यही कार्यक्रमका लागि नगरपालिकाका सबै कार्यालयमा बिदा दिइएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। उनले भने, ‘राष्ट्रकै प्रमुख आउन लाग्नुभएकोले बिदा दिने निर्णयमा पालिका पुगेको हो। भोलि विद्यालय र सबै सरकारी कार्यालय बन्द हुन्छन्।’

साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्‍दन गर्ने कार्यक्रम पनि रहेको उनले बताए। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा निस्किएकी छन्। ४ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम छ।

 

राष्ट्रपतिले बुधबार मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्‍घाटन र २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ। बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *